जिल्लामा दूधको मूल्य बढाउने तयारी

तुलसीपुर । जिल्लामा दूधको मूल्य बढाउने तयारी गरिएको छ । सरकारले दूधको समर्थन मूल्य बढाउने निर्णय गरेसँगै जिल्लामा पनि दूधको मूल्य बढ्ने भएको हो । यसअघि ८० रुपैयाँ प्रतिलिटर दूधको खुद्रा मूल्य अब ९० रुपैयाँ प्रतिलिटर पुग्ने गरी बढाउने तयारी गरिएको छ । किसानहरु यसअघि बिक्री गर्दै आएको थोक मूल्यमा जिल्लामा ७ रुपैयाँ बढाउने तयारी गरिएको छ । विगत २ बर्षदेखि दूधको मूल्य नबढेको र अब मूल्य बढेसँगै किसानहरुलाई राहत मिल्ने किसान चन्द्रबहादुर डाँगीले बताए ।

दूग्ध उत्पादक किसानहरुको पशुपालन गर्दा बस्तुभाउले खाने पशुआहार मुद्रास्फिती दर, दाना घाँस पराल बैंक व्याज पेट्रोलियम पदार्थ लगायतका बस्तुमा मूल्यवृद्धि भएको र २ बर्ष भन्दायता दूधजन्य बस्तुमा मूल्यवृद्धि नभएकोले सरकारको निर्णयसँगै जिल्लामा पनि दूधको मूल्य वृद्धि गर्ने तयारी गरेको राष्ट्रिय व्यावसायिक पशुपालक तथा दूग्ध उत्पादक कृषि समाज नेपाल तुलसीपुर नगरका कोषाध्यक्ष चन्द्र डाँगीले बताए ।

‘जिल्लाभरि दूधको मूल्य समायोजन गर्ने तयारी भइरहेको छ, अब केही दिनमा नै किसान, व्यवयायीहरुबीच छलफल गरी मूल्य वृद्धि गर्ने तयारीमा हामीहरु छौं’, डाँगीले भने । त्यस्तै राष्ट्रिय व्यावसायिक पशुपालक कृषि तथा दुग्ध उत्पादक कृषक समाज नेपाल जिल्ला समिति दाङले पनि नेपाल सरकारले माघ १७ गतेको दूधमा मूल्य समायोजन गरी किसानहरुले पाउने गरी प्रतिलिटर ७ रुपैयाँ बृद्धि भएकोले जिल्लामा रहेका सम्पूर्ण डेरी व्यवसायी, उद्योगी, सहकारी संस्था आम उपभोक्ताहरु एवं सरोकारवालाहरुलाई फागुन १ गतेदेखि लागू हुने गरी दाङ जिल्लाभर सो कार्यान्वयनका लागि आग्रहसमेत गरेको छ ।

जिल्ला अध्यक्ष शशिराम बुढाथोकीले विज्ञप्तिमार्फत उक्त निर्णय कार्यान्वयन सहजरुपमा किसानको हितलाई ध्यानमा राख्न पनि अनुरोध गरेका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको थियो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको थियो ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो । जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ ।

त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ । गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् । विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस