राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजय

दाङ । राष्ट्रियसभा सदस्यको लागि बुधबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । जसमा नेपाली कांग्रेसबाट युवराज शर्मा, ( एकीकृत समाजवादी ) बाट राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट कुलप्रसाद विश्वकर्मा रहेका थिए । त्यस्तै एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता रहेका थिए ।
प्रदेशमा महिलातर्फ ( एकीकृत समाजवादी ) की राजेन्द्रलक्ष्मी गैरे विजयी भएकी छन् । उनले प्रदेशतर्फबाट ४५ मत जसको मतभार २ हजार १६० र स्थानीय तहतर्फ १२३ मत, जसको मतभार २ हजार २१४ गरी ४ हजार ३७४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी भारती उपाध्याय खनालले प्रदेशतर्फबाट ३६ मत ( १७२८ ), स्थानीय तह तर्फ ८८ मत ( १५८४ ) गरी ३ हजार १२ मतभार प्राप्त गर्दै पराजित भइन् ।
त्यस्तै दलित तर्फबाट राष्ट्रिय जनमोर्चाबाट कुलप्रसाद विश्वकर्मा विजयी भएका छन् । उनले प्रदेशतर्फबाट ४५ मत, जसको मतभार २ हजार ६० र स्थानीय तह तर्फबाट १२२ मत, जसको मतभार २ हजार १९६ गरी ४ हजार ३५६ मतभार प्राप्त गरि विजयी भएका हुन् । त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण सुनारले प्रदेश तर्फबाट ३६ मत, ( १७२८ ) स्थानीय तह तर्फबाट ९० मत, ( १६२० ) मतभार प्राप्त गरि पराजित भए ।
त्यस्तै अन्य तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा विजयी भएका छन् । उनले प्रदेशसभा तर्फबाट ४४ मत, २ हजार ११२ मतभार र स्थानीय तह तर्फबाट १२४ मत, २ हजार २३२ मतभार गरी ४ हजार ३४४ मतभार प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्ताले प्रदेश सभा तर्फबाट ३७ मत, ( १७७६ ) स्थानीय तहतर्फ ८९ मत, ( १६०२) गरी ३ हजार ३७८ मतभार प्राप्त गरी पराजित भए ।
निर्वाचनमा ८१ जना प्रदेश सभा सदस्यहरू र २१३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गरेका थिए । प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९६ जना मतदाताहरू रहेका थिए । ति मध्यमा प्रदेशसभा ८१ जना मतदाताहरू रहेकोमा सबैले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यस्तै स्थानीय तहतर्फ २१५ जना रहेकोमा २१३ जनाले मतदान गरेका छन् ।
रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा. धवल शमशेर राणाले मतदान गरेका छैन् । उनीहरु दुबै जना राप्रपाबाट निर्वाचित भएका हुन् । राप्रपाले प्रदेश १ मा बाहेक उम्मेदवार नभएका अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो । यता लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका उम्मेदवारहरूले मतदाताहरूले आफूहरूलाई जिताएर गरेको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालको इतिहासमा प्रतिगमनकारीको पराजय भएको र अग्रगमनकारीको विजयी भएको ( एकीकृत समाजवादी ) बाट निर्वाचित राजेन्द्रलक्ष्मी गैरेले बताइन् । देशको प्रतिगन तिरको यात्रालाई रोक्नको लागि आफूहरू निर्वाचित भएको समेत उनको भनाइ थियो ।