एकिकृत समाजवादी लुम्बिनीको अध्यक्षमा चौधरी

दाङ । नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । नेकपा एमालेबाट बिभाजति भई पार्टीको आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले प्रदेश कमिटीको सचिवमा राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन भएका छन् ।
यस्तै प्रदेश अध्यक्ष चयन भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै चौधरीले नेकपा एमालेले चुनाव जित्ने आधार नभएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाइसकेको बताउँदै आगामी चुनावमा नेकपा एकिकृत समाजवादी ठूलो पार्टी बन्ने दावी गरेका छन्।
‘विगतमा केपी ओली नेतृत्वले कुनैपनि राम्रो काम गर्न सकेन उसले अब चुनाव कसरी जित्छ ?’ उनले प्रतिप्रश्न गरे । उनले ओलीले आफूहरुले सबै ठाउँमा चुनाव हार्ने देखिएपछि माधव नेपालले हार्छन् भन्ने अभिव्यक्ति दिएको बताए । ‘किन ठूलो पार्टी बनाउने,किन चुनाव जिताउने भन्ने आधार एमालेले गुमाइसेको हुनाले अब हाम्रो सानो दलनै ठूलो बन्छ । हामीले कम्यूनिष्ट पार्टीले अंगाल्दै अगाडि बढाउँछौं । हामी ठूलो पार्टी बनाउँछौं । हामीले चुनावमा अन्य दलहरुसँग मिलेर अगाडि बढ्छौं ।’