थारु समुदायको अट्वारी पर्व
दाङ । थारू समुदायले अट्वारी पर्व आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको उक्त पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।
थारू संस्कृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात ‘भिन्र्सया भाट’ खाने गर्दछन् । भिन्र्सया भाटमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । ‘दिउँसो पुरुष बर्तालु नुहाइ धुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन्। रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ‚’ उनले भने, ‘सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ ।
पहिलो रोटी थारू लोक विश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।’ टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्काे दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । संस्कृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।