भाषणमा मात्र सिमित, कागजमा छैन बजेट : देउखुरी क्रीकेट मैदान लमही !
![](https://sajhatimes.com/wp-content/uploads/2021/06/criket-lamahi-dang.jpg)
दाङ । लमही अन्तर्राष्ट्रिय क्रिकेट मैदान दाङ जिल्लाको शान मात्रै नभई लुम्बिनी प्रदेशको शानको रुपमा रहेको छ । २०५८ सालमा निर्माण शुरु भएको क्रिकेट मैदान धेरै पटक खेल्कुद मैदान भनेर बजेट छुटाए पनि पुरानो क्यानको राजनितिक हस्तक्षेप र आइसिसीको निलम्बन भएपछी पहुँच पुगाउदै लमही नगर बिकास समिती, देउखुरी क्रीकेट क्लब र दाङ जिल्ला क्रीकेट संघको सम्झदारीमा यो अन्तर्राष्ट्रिय क्रीकेट मैदानको मैदानको काम जारी भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै थोरै धेरै बजेट पर्दै पनि आएको थियो । पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा लमहीमा महिला तर्फको क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।
त्यसपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना भयो । उक्त प्रतियोगिताको समापनका बेला प्रमुख अतिथि भएर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल पुगेका थिए । मञ्चबाट भाषण गर्ने बेला उनले लमहीको क्रिकेट मैदानलाई स्तरोन्नती गर्नका लागि राखेपले बजेट छुट्याउने भनेर बोलेका थिए । उनले त्यतिबेला लमही क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने प्रतिवद्धता नै जनाएका थिए । त्रिबि मैदान पछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय र पहिलो ठूलो बाउन्ड्री भएको यो ग्राउन्डमा प्रधानमन्त्री महिला राष्ट्रिय क्रीकेट प्रतियोगितामा खेल हेर्न आउनेको संख्या अत्याधिक थियो ।
काठमाडौंमा मात्रै प्रतियोगिता गर्ने चलन पुरानो रहेको बताउँदै सदस्यसचिव सिलवालले लमहीले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता गरेको र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि सम्पन्न गरेको भन्दै खुबै प्रशंसा पनि गरे । उनले त्यतिबेला लमही मैदानमा अन्तर्राष्ट्रिय स्तरको डे नाइट प्रतियोगिता गराउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएर पनि फर्किए । २०५८ सालमा दाङ जिल्ला क्रिकेट संघ आफै उपभोक्ता समिति भएर मैदान निर्माण गर्न लागि परेको थियो । त्यतिबेलादेखि अहिलेसम्म झण्डै २० करोड खर्च भएको बताइए पनि आधिकारिक रुपमा ६ करोड भने खर्च भएको छ ।
लमही बसपार्कसँगै सटेका क्रिकेट मैदान पहिला प्राकृतिक रुपमै खाल्डो थियो । शुरुमा फुटबल या एथ्लेटिक्स ट्रयाक बनाउने भनिए पनि क्रिकेटको बढ्दो क्रेजलाई ध्यानमा राखि तत्कालिन नगर विकास परिषदले क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मैदानको माटो कटान र माटो पटानको काम भएको थियो ।अहिले वरीपरि खाल्डो भए पनि अन्तर्राष्ट्रिय मापदण्डलाई भने पूर्णरुपमा पालना गरेको छ । क्रिकेट संघ क्यानका दाङ अध्यक्ष प्रदीप मज्गैंयाँले भने ‘मैदान पूर्णरुपमा मापदण्ड अनुसारको छ । अब त्यहाँ संरचना बनाउन बाँकी छ ।’
![](https://sajhatimes.com/wp-content/uploads/2021/06/lamahi-cricket-1.jpg)
सरकारले जेठ १५ गते अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको थियो । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट भाषण लमही क्रिकेट मैदानको नाम नै उच्चारण गरेर बजेट राखिएको बताएका थिए । तर, युवा तथा खेलकुदमन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा सार्वजनिक गरेको पीडीएफ फाइलमा लमही क्रिकेट मैदानका लागि बजेट त परै जाओस नाम पनि समावेश गरिएको छैन ।
यसले गर्दा लमहीवासी क्रिकेट प्रेमीहरु अहिले आक्रोशित पनि भएका छन् । देउखुरी क्रिकेट क्लबका सदस्य प्रेम पुलामीले ०५८ सालदेखि काम शुरु भएपनि सरकारले ०६८ सालदेखि बजेट निरन्तर विनियोजन गर्ने गरेको बताए । तर यस पटक बजेट नपर्नु आफैमा आश्चर्य जनक कुरा रहेको जानकारी दिए ।
‘लमही मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि अहिले इन्डोर अभ्यासस्थल बनाउने संरचनाका लागि बजेट आउनु पर्ने हो । त्यो बजेटको फाइलमा मैले पनि भेटिन ।’ पुलामीले भने । आठौं राष्ट्रिय खेलकुदका बेला राखेपले पीच निर्माणका लागि १५ लाख रुपैयाँ दिएको थियो । त्यही बजेटबाट पीच निर्माण भएको थियो भने आर्थिक बर्ष २०७७–०७८ मा एक करोड बिनियोजन भएकोमा अझै काम बाँकी छ भने कोरोनका कारण त्यो पनि खर्च हुन सकेको छैन ।
क्यान दाङका अध्यक्ष मज्गैंयाले बजेट निर्माण गर्दा नै आफूहरुले दबाव दिएको बताउँदै शुरुमा तीन करोड भनिए पनि पछि घटेको खबर पाएको जानकारी दिए । तर अहिले आफूले पनि बजेट फाइलमा नभेटाएको बताए । उनले भने ‘लमही क्रिकेट मैदानलाई बजेट त पर्नुपर्ने हो, तर प्राविधिक रुपले कतै छुटेको पनि हुनसक्छ । आशा गरौं यसबारे सरकारले सच्याउने छ ।’