बर्दियामा हात्ती आक्रमणबाट एकको मृत्यु

बर्दिया । बासगढी नगरपालिका ८ स्थित नव प्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परी बुधबार एक जनाको मृत्यु भएको छ। निहुरो टिप्न जंगल गएका बेला स्थानीय ७८ वर्षीय नारेश्वर सापकोटालाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले लखटेर मारेको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । उनीसँगै निहुरो टिप्न गएका एकजना भागेर ज्यान बचाएका छन् ।

हात्तीले सापकोटालाई करिब १५÷२० मिटर दूरीसम्म लखटेको एसपी कार्कीले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ३० किमी पूर्व उत्तरमा पर्दछ । गत साउन यता बर्दिया निकुञ्जबाट निस्केका हात्तीले ४ जनाको ज्यान लिइसकेको छ ।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ । निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस